रोहितकुमार मण्डल
लहान, २८ कातिक । जुनि करु राम बिरोग माता जानकी सुतल छलहुँ माँ निन्द भेरसँ सपना देखल अजगुत....
मिथिला क्षेत्रमा झिसमिसेमै गाईने यस्ता प्रातःकालीन गीत (पराती) बढ्दो आधुनिकताले लोप हुन थालेका छन् ।
उज्यालोको प्रतिक्षामा प्रायः जाडो याममा महिला तथा पुरुषले गाउने यस्ता गीत लोप हुन थालेका हुन् । एका बिहानैदेखि विभिन्न एफएमहरुले फिल्मी भजनको प्रसारण शुरु गर्नाले पराती गाउनुको सट्टा तीनै भजन सुन्ने प्रवृति बढ्दो रहेको लहान १ का नैनी राम बताउँछन् ।
यस्तै फिल्मी भजनकै सुन्नेहरुको संख्या बढ्न थालेपछि मौलिक साँस्कृतिक धरोहरको रुपमा रहेको पराती गीत ओझेलमा पर्न थालेको नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताको भनाई छ ।
जाडोयामको लामो रात हुनाले चाँडै निद्रा खुल्ने र बाहिर काममा निस्कन पनि छ्याङ्ग नभएका कारण बिछ्यौनामै एक डेढ घण्टा कटाउन मधेशीहरुले पराती गाउने गरेको पौराणिक प्रचलन रहेको उहाँ बताउँछन् । आजभोली त एकाबिहानैदेखि गाउँवस्तीमा फिल्मी भजन घन्किने गरेका छन् गुप्ताले भने यसले नै मधेशको मौलिकता छायामा पर्ने अवस्था छ ।
गाउँघरका समाचार तथा जनसरोकारका विषयलाई समेट्ने उद्देश्य राखेका एफएमहरुले परातीजस्ता मौलिकतालाई रेकर्डिङ्ग गरेरै भए पनि प्रसारणमा ध्यान पु¥याए यसको जगेर्ना हुन सक्ने उहाँको विश्वास छ । रामसीता, राधाकृष्ण, महादेवपार्वती लगायतका देवी देवताहरुको गाथा समेटिएको पराती चित्त शुद्धीको साधन समेत रहेको स्थानीय बुढापाकाहरुको भनाई छ ।
सप्तरीको हरिपुर ७ निवासी ६० वर्षिय बृद्ध जुगेश्वर चौधरीका अनुसार, परातीले प्रत्येक दिनको बिहानीसँगै ईश्वरसित मानिसको भावनात्मक रुपले सम्पर्क गराउँने बताउँनुहुन्छ । आँखा खोल्ने वित्तिकै ईश्वरको नाम लिएर पराती गाउँदा मनै पवित्र हुन्छ — उहाँ भन्नु हुन्छ । नयाँ शुरुवातको प्रथम समय नै ईश्वरभक्तिमा अर्पण गर्दा कसको मन पवित्र हुदैन र गाउनेलाई आनन्द भए झैं पराती सुन्नेका लागि पनि उत्तिकै आनन्दायक हुने गरेको कलासंस्कृती प्रेमीहरुको ठम्याई छ ।
साहित्यकार अर्जुन गुप्ताका अनुसार प्रेम, मिलन, बिरह, बेदना, धर्म, आदर्श तथा नैतिकताका विषयवस्तु समेटिएको परातीको आफ्नै पौराणिक महत्व रहेको छ । पराती सुन्नेलाई नैतिकता, पारिवारिक प्रेम तथा कर्तव्यबोधको सन्देश पुग्ने हुनाले यसलाई चरित्र निर्माणको प्रभावकारी उपायका रुपमा समेत अवलम्वन गर्न सकिने गुप्ताको दावी छ ।