विधिवत रुपमा छठ् पर्व मनाउँन तयारी, सिरहामा करिब १० करोड जतिको कारोबार
नवसंग्राम दैनिक
लहान १३ कात्तिक । मधेसलगायत देश विदेशमा छठ पर्व कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट विधिवत् रूपमा मनाउँन थालेको छ ।
छठी भगवतीको रुपमा यो चार दिन पूजा गरिन्छ । छठ पर्व मनाएमा परिवारमा शान्ति कायम हुनुका साथै पुत्र, पति र परिवारको कल्याण हुने जनविश्वास छ ।
छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाएर निष्ठापूर्वक खाने चलन छ । पर्सादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।
यस क्रममा व्रतीले दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ समाग्री पालोपालो गरी हातमा राखेर सूर्यलाई अर्पण गरेर तलाउबाट बाहिर आउने गर्दछन् । छठ पर्वको पुजा समाग्रीको रूपमा नरिवल, केरा, ढकिया, कुर्वा, कोशिया, बदही, ढकना मुला, भुस्वा, ठकुवा, आदी रहेका छन् ।
छठ पर्व मनाउनेहरूले पोखरीको डिल र नदी तलाउहरुको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउने चलन छ ।
छठको पहिलो दिन नहाए खाए व्रतालु बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई–धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् ।
छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर साग , लौका लगायत तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् ।
छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् ।
छठको चौथो दिन रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता पर्साद अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको पर्साद ग्रहण गरी ब्रत खोल्दछन् । योसँगै छरछिमेकी र समाजका व्यक्तिलाई पर्साद वितरण गर्ने चलन छ । छठ पूजाको लागि पोखरी, नदी तथा जलासय दुलही जस्तो सजाउँने गरिन्छ ।

छठ पर्वको लागि सिरहामा करिब १० करोड जतिको कारोबार
लहान । छठ् पर्वका लागि सिरहामा मात्र १० करोडबढीको कारोबार भएको अनुमान गरिएको छ । सोमबारदेखि नै शुरु भएको यो पर्वको लागि आवश्यक पर्ने समाग्रीहरुको कारोबार सिरहाको प्रमुख बजारहरुमा ह्वात्तै बढेपछि यसैका साथ भएको मूल्यबृद्धिले गर्दा त्यत्तिको व्यापार भएको स्थानीय व्यापारीहरुले जनाएका छन् ।
छठ पर्वमा पर्सादको रुपमा प्रयोग हुने केराको घरी, उखु, भोगटे, ज्यामिर, निबुवा, हरियो पातसिहितको अदुवा, बेसार, मुला, नरिवल, ओल, सुथनी जस्ता समाग्रीको कारोबार भएको छ । योसँगै पर्व मनाइने खोलानाला र पोखरीको साजसज्जामा प्रयोग हुने विधुतीय समाग्रीहरु, व्रतालु महिलाले प्रयोग गर्ने लत्ताकपडा र गरगहनाको कारोबारका कारण यो वर्ष सिरहाको लहान, धनगढी, सुखीपुर, गोलबजार, मिर्चैया, कल्याणपुर, सिरहा माडरलगायतको बजारमा करिब १० करोडबढी मूल्यको कारोबार भएको व्यापारीहरुले दावी गरेका छन् । साना हाटबजार र भारतीय बजारमा समेत कारोबार भएको छ ।
छठ पर्वको बेला सबैभन्दा बढी कारोबार महिलाले लाउने वस्त्र र आभुषण, केराको घरी, ढाकी, सुपा, कोनिया, फलफूल तथा साजसज्जामा हुने गरेको छ । यो पर्वको लागि व्रतालु महिलाले मात्र दुई वटा साडीसहितको वस्त्र र त्यस अनुसारको गरगहना लगाउने गरेका छन् । पर्वस्थल खोलानाला तथा पोखरीमा महिला तथा युवतीहरुले लगाउने पहिरनका कारण त्यहाँ एक किसिमको सामाजिक फेशन शोजस्तै भएको छ ।

छठ पर्व मनाइएका खोलानदी, पोखरी तथा दहहरुमा राम्रो कपडा र गरगहना लगाई महिलाहरु पहिरनको प्रतिस्पर्धामा उत्रिएको टन्नै छ । यो पर्वमा बेला प्रत्येक पुरुष तथा महिलाहरुले नयाँ र राम्रो कपडा तथा गरगहना लाउनुपर्ने अनि मिठो परिकार खानुपर्ने परम्परा नै रहेको स्थानीय शम्भु चौधरीले बताए । वस्त्र, गरगहना, केराको घरी तथा अन्य समाग्री गरी आयस्तरको आधारमा एक परिवारको न्युनतम ६ हजारदेखि १५ हजारसम्म खर्च हुने गरेको चौधरीले बताए । सिरहाका बजारहरुमा केराको एक घरीको मूल्य न्युनतम आठ सयदेखि १२ सय रुपियाँ रहेको छ ।
यस पर्वमा आवश्यक पर्ने बाँसबाट निर्मित नाङ्लो, ढाकी, डगरा, कोनिया जस्ता समानहरुको विक्री बढेपछि लहान २३ गाढाका दिलिप मरिकले राम्रो आम्दानी गरेको बताए । अरुबेला सय रुपियाँमा विक्री हुने नाङ्लो यसपालि दूई सयदेखि तीन सय रुपियाँसम्ममा विक्री भएकोले आफूले राम्रै आम्दानी गरेको उनले बताए ।
अरुबेला सामान्य विक्री हुने माटोबाट निर्मित हात्ती, घैंला, ढकना, मटकुरी, फुच्चि (गिलास) लगायतका समाग्रीहरु खरीद गर्न सर्वसाधारण तछाडमछाड गरेको देखिन्थे ।
‘छठ पर्वको लागि आवश्यक पर्ने फलफूल, अदुवाको बोट, उखु, सुथनी, केरा, पानी फल, नरिवल, बोडी, नाङ्लो, केनिया, ढाकी, माटोको दियो, कराई लगायतका प्रत्येक सामग्रीको मूल्य अरु दिनको तुलनामा यस बेला अत्यन्तै महङ्गो भएको छ’ चौधरीले थपे ।