दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक)
लहान, ४ कात्तिक । सिरहाको लहान ७ स्थित रहेको दुर्गा मन्दिरको हिसाब सार्वजनिक नहुँदा स्थानीय आक्रोशित छन् ।
लहान नगरपालिकाले व्यवस्थापन गर्दै आएपनि ०५४ सालदेखि स्थानीयले आफ्नो जिम्मा व्यवस्थापन गरी मन्दिर पूजापाठ् गर्न थालेको हो ।
स्थानीय व्यापारी र नेताले व्यवस्थापन गरेदेखि त्यस मन्दिरको हिसाब सार्वजनिक भएको छैन । हिसाब गरिएपनि त्यस समिति र त्यहाँका व्यापारी नेताहरुले दुर्गा मन्दिरको आम्दानी सार्वजनिक नगरेको स्थानीयको गुनासो छ ।
२५ बर्षदेखि हिसाब सार्वजनिक नहुँदा करोडौ रकम हिनामिना भएको स्थानीय एक व्यापारीको दावी छ ।
भक्तजनहरुले मन्दिरमा चढाएको बर्षेनी खुद्रा आम्दानी लगभग ५ लाख हुँदै आएको छ । यस बर्ष करिब ६ लाख खुद्रा आम्दानी भएको पूजा समितिका एक सदस्यले बताए ।
खुद्रा आम्दानी बाहेक सुन चाँदी र कपडा पर्साद यथेष्ट हुने गरेको छ । बार्षिक दशमी पूजा बाहेक दैनिक चढाएको रकमको कुनै हिसाब नरहेको स्थानीयको गुनासो छ ।
बार्षिकी पूजाको लागि चन्दा उठाउँने गरेको छ भने स्थानीयतहको सहयोग समेत लिने गरेको छ । खुद्रा आम्दानी बाहेक बली चढाएको रसिदबाट करिब २ लाख आउँने गरेको छ । बार्षिकी खर्च पूजा खर्च करिब ३ लाख हुने गरेको छ । स्थानीय एक व्यापारीले ‘२५ बर्षमा करोडौ आम्दानी भएको हुनुपर्छ ।’ ‘त्यसबाट समितिका सदस्य, व्यापारी र नेताहरुले बाडेर चलाउँने गरेको छ ।’ ‘ एक व्यापारीले २० लाख चलाएको मलाई थाहा छ ।’ ‘पैसा फिर्ता माग्दा, आजभोली भनेर आफ्नो व्याज र व्यापारमा लगाएको छ ।’ ‘यस्तो रकम कति जनाले लिएको छ, त्यसको कुनै हिसाबवारी छैन ।’ नेताहरुले राखेको पैसा फिर्ता गरेको छैन । व्यापारीहरुले दुर्गा पुजाको पैसा चलाएर सगुन मान्ने गरेको छ ।
लहान ७ का वडाध्यक्ष रामऔतार शर्माले ‘यो बर्षको हिसाब बैठक बस्दैछ , एक हप्तापछि सार्वजनिक गर्छु ।’ ‘विगत २५ बर्षको हिसाब मलाई थाहा छैन ।’‘यो सबै खर्च आम्दानी सुरेन्द्रनारायण शारडासँग छ ।’‘त्यो पनि चाडै माग गर्ने छु ।’ यस बर्षको बलिप्रदान समितिले आफ्नो आम्दानी खर्च फेसबुकमार्फत सार्वजनिक गरेको छ । अरु समिति, मुल समिति र विगत २५ बर्षको आम्दानी खर्च सार्वजनिक भएको छैन ।