नवसंग्राम दैनिक
लहान, १४ साउन । तीन महिना अगाडि सिरहाको लहान ७ स्थित सुनचाँदी व्यवसायी राजेश शारडाको घरमा डकैती तथा लुटपाट गरेका डाँकालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । विभिन्न स्थानमा हतियार देखाइ डकैती तथा लुटपाटमा संलग्न रहेका एक कुख्यात डाँका पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ४ ठाडी बस्ने वर्ष ४० का चन्दन पासवान रहेका छन् ।
खोजतलास गर्ने क्रममा पासवानलाई मंगलबार साँझ ५ बजेको समयमा घरमा लुकिरहेको अवस्थामा प्रदेश प्रहरीसहित सादा पोशाकक प्रहरी, इलाका प्रहरी कार्यालय खजुरी, प्रहरी चोकी ठाडीझिझाको संयुक्त टोलीले पासवानलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लहान ल्याएको छ । प्रहरीका अनुसार पासवानसहितको समूहले ७ बजे साँझ ३० चैत २०७७ को दिन सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित सुनचाँदी व्यवसायी राजेश सारडाको घरमा डकैती तथा लुटपाट गरेका थिए । राजेशको घरमा उनका बुवा भगिरथ सारडा र उनको परिवारका सदस्यको कञ्चटमा पेस्तोल तेस्र्याएर सुनचाँदी लुटपाट गरि फरार रहेका डाकाँ मध्ये पासवान समेत रहेको जनाइएको छ ।
यस्तै २०६७।०४।२९ गते जिल्ला रुपन्देहीको चिल्हिया गाविस वार्ड नं.६ स्थित फतेसिहं राणा र उत्तमकुमार क्षेष्ठको घरमा समेत डकैती गरेको घटनामा पासवानको संलग्नता रहेको प्रहरीको भनाइ छ । यस्तै महोत्तरी जिल्लाको विभिन्न स्थानमा डकैती तथा लुटपाट गरेको घटनामा समेत पासवानमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा समेत डाँका मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ ।