नवसंग्राम दैनिक
लहान, १४ साउन । नवविवाहिता कन्याको लागि मधु श्रावणी पर्व सुरु भएको छ । श्रावण कृष्णपक्ष (मौना) पञ्चमी तिथिदेखि शुक्ल तृतीयासम्म मनाइने यो पर्वको आज बुधबार मधुश्रावणी पर्व सुरु भएको छ । यस पर्वमा बेहुलीले ससूरालीबाट आएको लुगा लगाएर १५ दिनसम्म पूजा गर्ने परम्परा छ ।
यस पर्वको अवधिभर नवविवाहिताले बिहान नुहाइधुवाइ गरी मैना नामको रूखको पातमा नाग, नागिनको चित्र कोरी सोको विशेष विधिले पूजा गरेपछि चोखो खाने गर्दछन् ।
त्यस्तै प्रतिदिन साँझको बेला श्रृंगार गरेर साथी सहेँलीसँग बगैंचा र मन्दिरमा गएर फूललोरी (फूल टिप्ने) गर्छन् । साँझ टिपेको फूलबाट अर्को बिहानी नागनागिनको पूजा गर्ने गरिन्छ ।
महिला मधुश्रावणीको कथा सुन्ने र नाचगान गरेर मधुश्रावणी मनाउँछन् । नवविवाहिताले भने १३ दिन व्रत बस्ने चलन छ । मिथिला इतिहास अनुसार मुगल शासकबाट मिथिलाञ्चलका महिलाको अस्तित्व र अस्मिता बचाउन मधुश्रावणी सुरु गरिएको हो । मधुश्रावणीमा हरेक दिनको महत्व रहन्छ । यसबेला मैथिली लोकगीत समेत गाउने चलन छ । मधुश्रावणीमा नवदुलहीको जाँघमा तातो दियो वा मैनबत्तीले डाम्ने चलन पनि छ । यो विवादको विषय बनेपछि अहिले भने चिसो दियोले मात्र डाम्ने चलन सुरु भएको हो । मैथिल ब्राह्मण, कायस्थ र देव जातिले मधुश्रावणी पर्व मनाउँदै आएका छन् ।