हिँसाविरुद्ध १६ दिने अभियान ः सिरिवतीले नागरिकता पाउँलान त ?,रहस्मय हत्या र झारफुक गर्दै बलात्कार गर्दै
लहान, १२ मंसिर । लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत पहिलो दिन कातिक १० गते सिरहाको नवराजपुर गाउँपालिकामा बोक्सी आरोपबिरुद्धको सचेतना कार्यक्रम गरेको छ । सोहीक्रममा उक्त नवराजपुर ३ मझौराकी ८० वर्ष माथिकी एक बृद्धा महिलाले आफू घरेलु हिंसामा पर्दै आएको, छोरा बुहारीबाट खान लाउन नपाएको, नागरिकता समेत नबनाईदिएको र धेरै कष्ट बेहोरिरहेको पिडा अभियानकर्तालाई सुनाएको सो अभियानका देवराज पोखरेलले सार्वजनिक गरेको छ । उहाँको दुख कष्टका ब्यथा त धेरै थिए, तर नागरिकता नै नभएकोले अहिलेसम्म नागरिक नै हुन नपाएको र सरकारले दिने सामाजिक सुरक्षा भत्ता लिन समेत नपाईरहेको उहाँको करूण बेदनाले मन छोयो भन्दै पोखरेले समाजिक सँजालमा सार्वजनिक गरेको छ । केही समय अगाडि मात्रै १६ दिने अभियान कार्यक्रममा सहभागी भएर फर्कनु भएका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई सम्पर्क गरेर दुई छोराहरूको पक्की घर भएर पनि सधै भोकभोकै र हिंसा सहेर बस्न बाध्य बृद्ध महिलाको बृतान्त बताउँदै उहाँको सुरक्षा र नागरिकताको लागि अनुरोध गरेसमेत पोखरेलले गरेका छन् । कार्यक्रममा सहभागिहरुको बीचमा गएर प्रजिअ कणेलले म तपाईंहरूको सिडिओ भनेर गर्नु भएको सम्बोधन सम्झिरहेको थिए । मेरो अनुरोधमा प्रजिअले प्रहरीको सहयोगमा वडा कार्यालयबाट सिफारिस भई आएमा आफूले सहयोग गर्ने बताएका छन् । सिरहाका प्रजिअको भनाईलाई हामीसंगै हुनुभएका स्थानीय प्रहरीसमक्ष पनि अनुबाद भएको छ र उहाँको आश्वासनले केही आशा जगाएको पोखरेलले लेखेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा छौं, यी बृद्धा एकल आमा सिरिवती यादबले हातमा नागरिकता पाउनु भएको बेला कति हर्षित हुनुहोला, हामी कति हर्षित होला, त्यो अनुभूतिको पर्खाईसहित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सफल होस भनी पोखरेलले कामना गरेको छ ।
शोभापुरमा रहस्मय हत्या
महिला हिँसाविरुद्धको अभियान चलिरहेको बेला सिरहाको लहान नगरपालिका १८ शोभापुरमा कुटपिट गरी एक महिलाको हत्या भएको छ । उनी मुस्लिम महिलाको हत्या रहस्मय बन्दै गएको छ ।
लहान नगरपालिका १८ शोभापुरका दिल मोहम्मदका पत्नि २५ वर्षीया इसरत खातुनको मृत्यु शंकास्पद देखिएको छ ।
स्थानीयका अनुसार उनलाई सोमबार राती आफन्तमा पर्ने सासु–ससुराले कुटपिट गरेका थिए ।
घाइते खातुन स्थानीय औषधी पसलमा उपचार गराएका थिए । बिहीबार साँझ उनको मृत्यु भएको छ । स्थानीयका अनुसार मृत्युपछि केही व्यक्तिले एम्बुलेन्समा राखेर उपचार गराउन भन्दै अस्पताल पु¥याउँन लगिरहेका थिए । गाउँबाट प्रहरीलाई खबर पुग्यो । प्रहरी अस्पताल पुग्दा महिलाको मृत्यु भइसकेको थियो ।
शवलाई पोष्टमार्टमका लागि लहानस्थित राउ स्मारक अस्पतालमा राखिएको छ ।
घटनामा अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएका छन् ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीका अनुसार घटनाको जाहेरी आएको छ ।
झारफुक गर्दै बलात्कार गर्दै
बलात्कारको आरोपमा लहान १० बाट एक मौलानालाई मंगलवार प्रहरीले पक्राउ गरेका छन् । सिरहाको लहान ७ की एक महिलालाई झारफुकको बहानामा बलात्कार गरेको आरोपमा मौलानालाई पक्राउ गरिएको हो ।
मिर्चैया नगरपालिका–१० घर भई हाल लहान–१० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षीय मौलाना अली हसनलाई पक्राउ गरिएको हो । मौलाना हसनमाथि झारफुक गराउन गएकी २३ वर्षीया युवतीलाई मंगलबार दिउँसो बलात्कार गरेको आरोप लागेको छ । बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । प्रहरीका अनुसार पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित महिलाकी बयानका आधारमा मंगलबार राति नै हसनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताए ।
डिएसपी क्षेत्रीका अनुसार बुधबार उनीमाथि अनुसन्धानका लागि सरकारी वकिल कार्यालय मार्फत अदालतले ५ दिनको म्याद थप गरेका छन् । मौलानालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछि निकालेको आफन्तको आरोप छ । मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् । त्यसपछि आफन्तहरू उनको घर पुगेर मौलानालाई नियन्त्रणमा लिएर कुटपिट गर्दै प्रहरीलाई जिम्मा दिएका छन् ।