लहान, ११ साउन । सडकगलीमा दुव्र्यसनी, रक्सीपान, आफ्न्त नभएका र कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको सदगत कसले गरिदिने चिन्ता रहन्छन् । झन कोरोना संक्रमित शव नजिक आफ्न्त पनि पुग्दैन । वेवारिसे अवस्थाको शवलाई व्यवस्थापन नहुँदा किरामकोरा लागेर गन्हाइरहन्छन् । यस्तो शवलाई व्यवस्थापन गर्न बाबुछोरी अभियानकै रुपमा लागेका छन् ।
करिब ६ बर्षदेखि वेवारिसे शव व्यवस्थापन तथा पूनर्जीवन केन्द्र ललितपुर नामक संस्था खोलेर विनयजंग बस्नेत र उनका छोरी सपना रोक्कामगर बस्नेतले आज लहानमा पत्रकार भेटघाट गर्दै लकडाउनको अवधीमा मात्रै ७५ वेवारिसे शवको व्यवस्थापन गरिएको छ । हालसम्म २७४ वेवारिसे शवको व्यवस्थापन गरिएको छ ।
अभियन्ता विनयजंग बस्नेतले ‘आज भन्दा १५ बर्ष पहिले मेरो बुवा घरबाट निस्किएर बजार गएका थिए । तीन दिनसम्म घर फर्किएन । उहाँको शव महाराजगन्ज टिचिँग हास्पीटलमा राखिएको थियो । उहाँसँगै अरु शव वेवारिसे अवस्थामा रहेको थियो । बुवाको निधनपछि यस्तो वेवारिसे अवस्थामा देख्दा मनले मानेन । अनि वेवारिसे शव व्यवस्थापन गर्न मेरो इच्छा जागियो । आज अभियानकै रुपमा यसलाई अगाडि बढाउँदै आएको छु ।’
उहाँकी छोरी सपना रोक्कामगर बस्नेतले ‘वेवारिसे अवस्थाको शव व्यवस्थापन गरेर फर्किदा समाजमा हेला गर्थियो । कुन जातको कस्तो शव छोएर आएको होला । हामीसँग गाउँ टोलमा छुवाछुत मान्थ्यो । अहिले त्यस्तो छैन ।’
अभियान्ता बस्नेत बुवाछोरीले सडक बालबालिका, मग्नते, उपचारको अभावमा सडक पेटीमा रहेका व्यक्तिलाई उपचार गरी व्यवस्थापन गर्न बाआमा घर आश्रम पनि खोलेका छन् । यस्तो कार्यमा लागेका बस्नेत अभियान्तालाई सरकारले आर्थिक सहयोग नगरेपनि आफ्नै खर्चमा काम गर्दै आइरहेका छन् । अभियन्ता बस्नेतले ‘घरजग्गा राखेर १८ लाख ऋण लिएको छु ।’‘तर, सरकारले अहिलेसम्म कुनै सहयोग गरेका छैन ।’ यसको लागि अभियन्ता बस्नेतले ७७ वटै जिल्लामा शाखा खोलिने लक्ष्य लिएका छन् भने हालसम्म २३ जिल्लामा शाखा गठन भएको छ ।