धनगढीमाईमा मुसहर वस्तीको घर निर्माण अधुरो, वडाध्यक्ष विरुद्ध प्रदर्शन
लहान, ११ साउन । सिरहाको धनगढीमाई १२ नेवार नमुनामा टोलमा मुसहरवस्तीको लागि घर निर्माणमा व्यापक अनियमिता भएको भन्दै साउन १० गते स्थानीयले जुलुस प्रदर्शन गरेको छ ।
वस्तीमा घर निर्माणको लागि धनगढीमाई १२ का वडाध्यक्ष राजु श्रेष्ठले उपभोक्ता समिति गठन गरेपनि प्रकाश पंजियार र हरि मैनालीलाई ठेका दिएर अधुरो काम गरेको छ ।
ठेकेदारले उपभोक्ता समितिका पदधिकारीहरुलाई फकाई धम्काई चेकमा सहीछाप गराएर कमिशनको खेल भएको आरोप छ । उपभोक्ता समितिका अध्यक्ष राजकुमार सदायले ‘हामीसँग ठगेर खाली चेकमा सहीछाप गराए ।’ तर, ‘घर निर्माण अधुरो छ ।’ ‘काम सम्पन्न गरेर भुक्तानी लिनुपर्ने हो ।’ ‘यहाँ काम नगरी बीचमै भुक्तानी लिएको छ ।’
घर निर्माणको लागि ४८ लाख बजेट विनियोजित गरेको छ । त्यसमा रनिँग विल भनेर २४ लाख एक पटक निकासा गरिएको छ । काम सम्पन्न नगरी १९ लाख दोस्रो पटक भुक्तानी लिएको छ ।
मुसहर नमुना बस्तीको लागि ८ वटा घर निर्माण गरिएको छ । निर्माण गरिएको घरमा वाईरिँग, पेन्टिँग, किचेन स्लाप छैन भने चदराको तल प्लाई लगाइएको छैन । डिपीसी ढलान गरिएको छैन । ग्यास चुल्हाको व्यवस्था गरिने भनिएपनि उपलब्ध गराएको छैन । घरमा ९ वटा पाईपको ठाउँमा ६ वटा मात्र प्रयोग गरिएको छ ।
पिलरविहीन निर्माण गरिएको घर हावाहुरी र भुकम्प प्रतिरोधक नभएकोले मुसहर वस्ती जोखिम रहने वडा सदस्य श्यामकुमार मण्डल बताउँछन् । वडासदस्य मण्डलले ‘हामी सदस्यहरुलाई पनि सरसलाह नगरी वडाध्यक्षले मनपरी कमिशनको भरमा काम गरेपछि निर्माण कार्य कमजोर कमसल हुनु स्वभाविक नै हो ।’
वडाध्यक्ष राजु श्रेष्ठले ‘यो वस्तीको घर निर्माण कार्य सकिएको छैन ।’ ‘ठेकेदारसँग समन्वय भइरहेको छ ।’‘ अधुरो काम छिटै नै पुरा गरिने हो ।’ ‘लकडाउनले ढिलो काम भएको छ । ठेकेदारलाई चेक दिँदा मलाई सोधिएको छैन ।’ ‘मलाई सोधेको भए भुक्तानी रोकिन्थ्यो ।’
कामघर निर्माण कार्य पुरा गर्न गराउँन ठेकेदारसँग स्थानीय मुसहरहरुले कुरा राख्दा ठेकेदार हरि मैनालीले साउन ९ गते वस्तीमै गएर मुसहरहरुलाई कुटपिट गरेको छ । घुसखोरीलाई कारवाही गर, कुटपिट र दलितलाई हेप्न पाउँदैन भन्दै साउन १० गते स्थानीयले जुलुस प्रदर्शन गरेको छ ।