लहान, २ साउन । देशभरीमै सिरहा भ्रष्टाचारमा अगाडि रहेको एक तथ्याँकले सार्वजनिक गरेको छ ।
खर्चिलो निर्वाचनले भ्रष्टाचार बढाएको निष्कर्ष निकाल्दै गरेको अवस्थामा सिरहाको कल्याणपुर नगरपालिकाकाबाट भ्रष्टाचारको आरोपमा साउन १ गते दूई जनालाई पक्राउ गरेका छन् । कल्याणपुर नगरपालिकाका मेयरका छोरासहित २ जनालाई ५ लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले लहान २२ भोटियाटोल नजिककैको एक पेट्रोल पम्पबाट लेनदेन गरिरहेका मेयर सूर्यनाथ मण्डलका छोरा ३५ वर्षीय सन्तकुमार मण्डल र उनीसँगै रहेका जितेन्द्र महतोलाई घुस रकमसहित पक्राउ गरेका छन् । कल्याणपुरका मेयरले डिपीआर गरेको भुक्तानी दिन सेवाग्राहीसँग मागेको ५ लाख घुस लिन छोरालाई पठाएका बेला अख्तियार टोलीले नियन्त्रणमा लिएको हो । डिएसपी मधुकुमार थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानको लागि आयोगको कार्यालय वर्दिवास लगिएको छ । कल्याणपुर नगरपालिकामा यस अघि एक कर्मचारीलाई घुस रकमसहित अख्तियारले पक्राउ गरेका थिए । सिरहाको गोलबजार नगरपालिकाबाट यस अघि एक महिला कर्मचारीलाई अख्तियारमा नियन्त्रणमा लिएका थिए ।
प्रदेश २ भ्रष्टाचारमा अगाडि रहेको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ ।