लहान, २ साउन । दूई सत्ता नवित्दै सिरहामा पाँच बलात्कारको घटना सार्वजनिक भएको छ ।
सिरहाको कल्याणपुर १२ का एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २१ वर्षीय मनोहरकुमार रायविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा असार ३० गते उजुरी दिएको छ ।
पीडित पक्षका अनुसार आरोपितले बालिकालाई विवाहको प्रलोभन देखाएर जेठ ३० गते बलात्कार गरी भारततर्फ लगेको र भारतबाट पीडित नेपाल प्रवेश गर्दा प्रहरीले क्वारेण्टाइनमा राखेको पीडितकी दिदीले बताइन् ।
पीसीआर परीक्षण गर्दा बहिनीमा पोजेटिभ देखिएको र महेन्द्र गेनाइ अस्पतालमा रहेको आइसोलेसनमा भर्ना भई उपचारपछि निको भएर मात्र असार ३० गते उजुरी दिइएको इन्सेक प्रतिनिधिलाई पीडितकी दिदीले बताइन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर दिपेन्द्र श्रेष्ठले आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार ३० गते भएको छ । यसैगरी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेका छन् । कर्जन्हा १ का २० वर्षीय लक्ष्मण खत्रीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले असार ३० गते गिरफ्तार गरेको छ ।
पीडित पक्षका अनुसार आरोपितले बालिकालाई असार २७, २८ र २९ गते राति पीडितकै कोठामा बलात्कार गरेको आरोप छ ।
असार २९ गते राति बालिका रोइरहेको सुनेर हजुरआमाले सोधपुछ गर्दा घटना बारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मिर्चैयामा असार ३० गते पीडितपक्षले उजुरी दिएको हो ।
घटनाको जानकारी हुनासाथ आरोपित खत्रीलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताए । यसैगरी एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सिरहाले असार २५ गते भगवानपुर गाउँपालिका–३ का २१ वर्षीय अरबिन्द तिवारीलाई १२ वर्ष कैद तथा क्षतिपुर्ती भराउने फैसला गरेको छ । आरोपितबाट १ लाख रुपियाँ क्षतिपुर्ती तथा पीडित सहायता कोषमा २ हजार २ सय रुपियाँ भराउने फैसला भएको हो । त्यसैगरी एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सिरहा नपा–२२ का १८ वर्षीय ललित राम विरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा असार १५ गते उजुरी परेको छ ।
आरोपितले असार ६ गते औषधी खुवाएर गर्भ पतन गराएपछि बिरामी परेकी छोरीसँग सोधपुछ गर्दा असार १४ गते घटनाबारे सार्वजनिक भएको छ ।
हातीले कुल्चेर एक बालकको मृत्यु
लहान, २ साउन । हातीले कुल्चेर सिरहाको मिर्चैया नगरपालिका ९ मा एक बालकको मृत्यू भएको छ ।स्थानीय श्रवण महतोका ८ बर्षिय छोरा रबिन्द्र महतोलाई हातिले ज्यान लिएको हो । घरमै सुतेको अबस्थामा जंगली हातिले आक्रमण गरी बालक महतोको ज्यान लिएको सिरहा प्रहरीले जनाएको छ ।
बालकको मृत्युपछि उक्त टोलका बासिन्दा शोकमा डुबेका छन् । त्यसक्षेत्रमा हातिले पटक पटक दुःख दिने गरेको छ ।