लहान, ३० कात्तिक । धनी व्यक्तिहरु रुपैयाँ खर्च गरेर पनि शल्यक्रिया गराउन सकिने भएकोले बर्षौंदेखि बिरामी भएपनि उपचार गराउन नसकेका दलित र विपन्नवर्गका लागि यो शिविर सञ्चालन गरिएको कार्डियोलोजी डाक्टर विकाश गुप्ता बताउंछन् । अलोहा मेडिकल मिशन अमेरिकासँग आवद्ध डाक्टरहरुको टोली लहानमा कात्तिक २० गतेदेखि १० दिने निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरको क्रममा शिविरको नेतृत्व गरेका डा.गुप्ताले यो शिविर नितान्त गरिबहरुको लागि हो बताउंछन् ।
शिविर संचालन समितिका संयोजक विजय गुप्ताका अनुसार अगामी कात्तिक २० गते देखि ३० गते सम्म १० दिन चल्ने शिविरमा कार्डियोलोजी डाक्टर विकाश गुप्ताको नेतृत्वमा ४२ जनाको डाक्टरहरुको टोली लहान अएका हुन् । संचालित शिविरमा यस पटक ९ दिनमा मेजर ९८ , माइनोर ३ सय , डेन्टल ५ सय ३० र हान्ड फिटिंग ७ जनालाई शल्यक्रिया गरिएको छ ।
शिविरमा पाठेघर, हर्निया, पत्थरी, पाइल्स, पित्तथैली, खन्डे ओठ , हाइड्रोशिल , लिङ्गमा छाला टासेको,मलद्वार वरिपरिको समस्या ,आङ्ग खसेको ,पाठेघर ,अन्डासयमा टियुमर, दांतको समस्या लगायतका विरामीको निशुल्क शल्यक्रिया गर्ने र नक्कली हात वितरण गरिएको छ ।
विगत चार बर्षदेखि निरन्तर डा.विकाश गुप्ताले अमेरिकाबाट डाक्टरहरुको टोलि ल्याएर नेपालमा शिविर संचालन गरिरहेका छन् । पहिला सन् २०१२ मा संचालन भइसकेको उक्त शिविर पुनः चार बर्ष पछि लहानमा फेरी संचालन हुँदैछ भने धनकुट्टामा तीन पटक संचालन भइसकेका छन् ।
चार शिविरमा गरी नेपालका करिब २५ सय विरामीको शल्यक्रिया भएको शिविर संचालन समितिका सदस्य राकेश गुप्ता रोशनले जानकारी दिएका छन् । शिविर लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा संचालन भइरहेको छ । निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर मातृभूमि विकाश मंच र अलोहा मेडिकल मिशन अमेरिका संयुक्त आयोजनामा भइरहेको छ ।