सिरहाका सिडियोविरुद्ध किन सडक तताउँन तयारी ? मारुती सिमेन्टको दबंग चोहर्वामा
लहान, ९ कातिक । कसैको नामको जग्गा सार्वजनिक कायम गर्ने अनि मारुती सिमेन्ट उद्योगले कब्जा गरिएको जग्गा किन सार्वजनिक कायम नगर्ने भन्दै सिरहाली जनताले आवाज उठाउन थालेको छ ।
योसँगै सार्वजनिक जग्गा बचाउ अभियान संघर्ष समितिले कातिक ७ गते पत्रकार सम्मेलन गरी जिल्ला प्रशासन कार्यालय सिरहाका सिडियो प्रदीप कणेलको नियत सफा नरहेको भन्दै जस्तोसुकै आन्दोलन गर्ने बताएका छन् ।
उता, आन्दोलनमा उत्रेका स्थानीयलाई सम्बोधन गर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत चोहर्वा नै आए ।
स्थानीयको निरन्तरको आन्दोलनपछि मुख्यमन्त्री राउत गत माघ २९ गते यहाँ आएर चाँडै नै सम्पूर्ण माग सम्बोधन हुने आश्वासन दिए । उनले भनेका थिए, ‘मैले सबैथोक बुझेँ, यहाँहरुका माग जायज हुन्, मैले सम्बन्धित निकायलाई यथाशीघ्र माग सम्बोधन गर्न निर्देशन दिइसकें ।’
मुख्यमन्त्री राउतले मारुतीको कब्जामा रहेको वनको सार्वजनिक जग्गा फिर्ता तथा अन्य मागहरु पनि सम्बोधनको प्रक्रिया थाल्न जिल्ला प्रशासन कार्यालय सिरहालाई ठाडो निर्देशन दिएका थिए । मुख्यमन्त्रीको यस्तो आश्वासनपछि आन्दोलनरत संघर्ष समितिले तत्काल आन्दोलन स्थगित गर्यो ।
मुख्यमन्त्री राउत यहाँ आएर गरेको यो बाचाको झण्डै डेढ महिना हुन लाग्यो । तर, अझै पनि कुनै सुनुवाइ भएको छैन । मुख्यमन्त्रीको निर्देशनलाई समेत बेवास्ता गर्दै सम्बन्धित निकायहरुले आलटाल गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयको उदासीनताका कारण मारुती सिमेन्टले कब्जा गरेको जग्गा फिर्ता तथा अन्य माग सम्बोधनको प्रक्रिया अघि बढ्न सकेको छैन । सम्बन्धित निकायहरुले आलटाल गरेर पञ्छिन खोजिरहँदा संघर्ष समितिले पुनः आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । संघर्ष समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो चेतावनी दिएको हो । डिभिजन वन कार्यालय लहानले जग्गा फिर्ताको प्रक्रियामा आवश्यक कागजात उपलब्ध गराउन मालपोत कार्यालय सिरहालाई पत्राचार पनि गरेको छ । तर, मारुतीसँगको सेटिङमा सबै निकाय मौन बसेको संघर्ष समितिका संयोजक चिरञ्जीवी यादवको आरोप छ । धैर्यताको सीमा अब नाघिसकेको भन्दै बाध्य भएर दशैं लगत्तै आगामी आन्दोलनको प्रारुप तय गरी आन्दोलनमा जाने संघर्ष समितिका रामदयाल यादवले जानकारी दिए ।
यहाँ भएको उस्तै हो । आयोगका सिरहाका सदस्य देवकुमार लामाले पदको दुरुपयोग गर्दै अहिले अर्बौैं मूल्य पर्ने ३ बिघाबढी जग्गा पत्नी, छोरादेखि आफन्तसम्मको नाममा गराए । चन्द्रउदयपुर ८ (क) को साबिक कित्ता नम्बर २००, २०२ र २०५ को झण्डै करिब साढे तीन बिघा जति जग्गा उनले हत्याए ।
कित्ता नम्बर २०० को १७ कट्ठा १० धुर, किता नम्बर २०२ को १५ कट्ठा ६ धुर र कित्ता नम्बर २०६ को १ बिघा ७ कट्ठा ८ धुर सरकारी बुट्यान जग्गा पछि आएर मारुती सिमेन्ट उद्योगका सञ्चालक मनोज गोयल र अनुज राँठीको नाममा कित्ताकाट भएको छ । हाल १२ वटा कित्तामा कायम रहेको उक्त जग्गामध्ये केहि जग्गा गोलबजार नगरपालिकामा पर्छ भने केहि जग्गा नरहा गाउँपालिकामा पर्छ ।
वनको सार्वजनिक जग्गा भएको थाहा हुँदहुँदै पनि लामासँग मारुतीले सस्तो दरमा खरिद गरि जग्गामा रजाइँ गरिरहेका छन् । सार्वजनिक जग्गा निजीकरण गरेको चर्चा स्थानीयमा चलेपछि फँस्ने डरले लामाले मारुती सिमेन्टका सञ्चालकसँग उक्त जग्गा बिक्री गरेको देखिन्छ ।
मारुतीले हाल रजाइँ गरिरहेको उक्त वनको सार्वजनिक जग्गा सम्बन्धमा स्थानीयले पटकपटक आवाज उठाइरहेका छन् । तर, मारुतीलाई भने फरक परेको छैन ।