लहान, १९ साउन । भाई बहिनीको स्नेह प्रेमको रुपमा रहेको रक्षाबन्धन पर्वलाई धर्मशास्त्र अनुसार सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनले वालवालिकालाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध छ । देवराज इन्द्र र दैत्यराज वृत्तासुरबीच १२ बर्षसम्म भयानक युद्ध चर्किएको थियो । उक्त युद्धमा असुरहरुले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न थाले ।
यता इन्द्रले उनीहरुसँग पुन अन्तिम युद्ध गर्ने संकल्प गरे । त्यो दिन श्रावण शुक्ल चर्तुदशीको दिन थियो । देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजयको काममना गरी श्रावणमासको पूर्णिमाको शुभमूर्हुतमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।
यसलाई आधुनिक समाजमा आफ्नै दानवरुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने सांकेतिक पर्व हो, रक्षा बन्धन ।
हरेकजासो पर्वलाई विजयोत्सवको रुपमा पनि मनाउने गरेको छ । रक्षाबन्धन पनि मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्वको रुपमा मानिन्छ । सूत्र आत्माको मर्यादा र संयमको प्रतिक हो । सूत्र कुनै पनि वस्तुलाई अविछिन्न गर्ने वस्तु हो । रक्षाबन्धनको अर्थ अविचलित भएर पवित्रताको पालना गर्नु पनि हो । भनिन्छ, पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।