लहान, १९ साउन । स्वास्थ्य सेवामा समर्पित कर्मशील व्यक्तित्वका रूपमा सुपरिचित डा.रुपचन्द्र विश्वकर्मालाई २६ औँ प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित गर्ने भएको छ ।
इन्सेक कार्यसमितिको गत साउन ६ गते सम्पन्न भएको बैठकले सो निर्णय गरेको छ । विगत तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा नागरिकको स्वास्थ्य सेवाका लागि उहाँले लिनुभएको पहलकदमीका लागि उहाँलाई पुरस्कृत गर्ने निर्णय भएको हो । ५० हजार रुपियाँ पुरस्कार राशीको पुरस्कारका साथमा सम्मान–पत्र तथा इन्सेकको प्रतीक चिन्ह सम्मानित व्यक्तित्वलाई प्रदान गरिन्छ । इन्सेकका संस्थापक महासचिव श्री प्रकाश काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाइ एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा स्व. काफ्लेले पु¥याउनुभएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले प्रकाश मानव अधिकार पुरस्कारको स्थापना गरेको हो । नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसको अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ । यो पुरस्कारबाट हालसम्म २५ जना पुरस्कृत भइसक्नु भएको सिरहाका इन्सेक प्रतिनिधि दुर्गा परियारले बताए ।