राजपा एकताले सिरहाली जनता उत्साहित, दीप प्रज्वलनसंगै फोरमका कार्यकर्ता राजपामा प्रवेश
राजपा एकताले सिरहाली जनता उत्साहित
लहान, १३ बैशाख । राष्ट्रिय जनता पार्टी जिल्ला एकता भेला आज सिरहामा एक कार्यक्रमबीच सम्पन्न भएको छ । दूई हजारबढी सहभागितामा भएको सो कार्यक्रममा राजपाका डा.महादेव साहले मधेशी जनताको माग पूरा गर्न यो मधेशवादी दलहरुको एकता सार्थक रहेको बताउंनुभयो ।

मधेश र मधेशीको आवाज दमन गर्ने सोच रहेका केही दलहरु यस एकीकरणमा सहभागी नरहेकोले निकट भविष्यमा यस्ता एकलपन दलको नतिजा मधेशी जनताले नै देखाउंने डा. साहले बताउंनुभयो । कार्यक्रममा डा.पशुपति चौधरीले एमालेलगायत प्रमुख दलले स्थानीय निर्वाचन गराउंन मनसाय नराखेको दावी गर्दै भने संविधान संशोधनको विरोधी एमाले हो । एमालेकै कारण मधेशीहरु मधेश स्वतन्त्रताको आवाज उठाउंन थालेको बताउंनुभयो । डा.चौधरीले यही अवस्था रहिरहियो भने मधेशमा मधेशीको शासन सत्ता शुरु हुने छ । जसमा अहिले नै प्रहरी प्रशासन र सेना वाहेक मधेशीले आफ्नो अनुरुप चलाइरहेको छ । सरकारको रवैया यस्तै रहियो भने राजपाले पनि प्रहरी र सेनामाथी लगाम लगाउंन पछि नहट्ने बताउंनुभयो ।
कार्यक्रममा राजपाका रामबहादुर महतो, उपेन्द्र सिंह, रोहित महतो, सुरेश मण्डल, भरत साह, डिपी गुप्ता, जीवछ यादव, धनिकलाल यादव, उदय यादव, प्रदीप मण्डललगायतका नेताले आन्दोलन सशक्त बनाउंनको लागि यो एकता भएका बताएका थिए ।
दीप प्रज्वलनसंगै फोरमका कार्यकर्ता राजपामा प्रवेश
मधेशवादी दलहरुको एकीकरण भएको अवसरमा लहान वडा नम्बर ४ मा राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले आज दीप प्रज्वलन कार्यक्रम गरेका छन् ।
वडा नम्बर ४ मा भएको दीप प्रज्वलनसंगै संघीय समाजवादी फोरमका कार्यकर्ताहरु राजपामा प्रवेश गरेका छन् । फोरमबाट प्रवेश गरेका दर्जनौलाई वडा समिति अध्यक्ष वृस्पति दास, सचिव रामप्रसाद महतो, कोषाध्यक्ष गंगाराम महतोलगायतले स्वागत गरेका थिए ।
त्यसैगरी, राजपाका नेता कार्यकर्ताहरुले सिरहाको कचनारी र औरहीमा पार्टी एकताको अवसरमा दीप प्रज्वलन गरी कार्यक्रम गरेका छन् ।
आन्दोलनकारी र प्रहरीबीच झड्प, दर्जनौ घाईते
सुनसरीको इटहरीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायत संघीय गठबन्धनका कार्यकर्ताले दर्जनौँ गाडी तोडफोड गरेका छन । संबिधान संसोधनको माग गर्दै गठबन्धनले निकालेको लाठी जुलुसका क्रममा मोर्चा कार्यकर्ताले गाडी तोडफोड गरेका हुन ।
जुलुसको क्रममा संघीय लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनमा आवद्व मोर्चाको र्यालीको क्रममा इटहरीस्थित हटियालाईनमा भएको झडपमा प्रहरी तर्फ ५ जना र मोर्चा तर्फ १५ जना घाईते भएका छन ।
झडपको क्रममा इलाका प्रहरी कार्यालय ईटहरीमा कार्यरत प्रहरी नायव उपरिक्षक पुण्य प्रसाद अधिकारी प्रहरी जवान भुपाल बिष्ट, यसैगरी बिरेन्द्र नेम्बाङ्ग, हरि सुवेदी र सुरेन्द्र अधिकारी घाईते भएका छन । प्रनानि अधिकारी र प्रहरी जवान अधिकारी र सुवेदी को ढाडमा चोट लागेको छ भने प्रहरी जवान नेम्बाङ्ग र बिष्टको टाउकोमा चोट लागेको छ । बिष्टको टाउकोमा ४ टाँका लगाईएको छ ।
यसैगरी राष्ट्रिय जनता पार्टीका दर्जनौ कार्यकर्ता घाइते भएको पार्टीका नेता तेन्जी लामाले बताउनुभयो ।
घाइतेहरुको स्थानीय स्वास्थ्य प्रतिष्ठानमा उपचार भैरहेको छ । घाईते सवैको सामुदायिक अस्पताल ईटहरीमा उपचार भईरहेको छ । संबिधान संसोधन नगरी स्थानीय निर्वाचन हुन नहुने भन्दै उनीहरुले र्याली निकालेका हुन । मोर्चाको आजको र्यालीमा संघीय समाजबादी फोरम नेपाल, संघीय लिम्बुवान मञ्च, संघीय लिम्बुवान पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय पार्टी क्रान्तिकारी र लिम्बुवान मुक्ति मोर्चा संघीयबादी समावेश छन् । आन्दोलनकारीले निकालेको जुलुस अघिअघि हिडेका प्रहरीहरु आन्दोलनकारीको निशानामा परेका छन । प्रहरीलाइ आन्दोलनकारीले इटा र लाठीले निर्घात कुटपिट गरेका छन । सो क्रममा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।