चन्द्रोदयपुर र मखनाहा खुला दिशामुक्त घोषणा, बर्षासंगै असिना — लहानमा लामखुट्टे आतंक, महिसोथा
— चन्द्रोदयपुर र मखनाहा खुला दिशामुक्त घोषणा, बर्षासंगै असिना
— लहानमा लामखुट्टे आतंक, महिसोथा विद्यालयमा चार शिक्षक ,चार विद्यार्थी
— भदैयामा गाईवस्तुलाई खोप, सिके राउतलाई दस दिन म्याद थप
लहान, १२ चैत्त ।
लक्ष्य प्राप्तिको लागि सिरहामा यत्ति खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान नै चलाएको छ । सोहीक्रममा सिरहा नगरपालिका वडा नम्बर ३ मखनाहालाई आज खुला दिसामुक्त वडाको रुपमा घोषणा गरिएको छ । यो सिरहा नगरपालिकाको १७ वडामध्ये खुला दिसामुक्त हुने ७ औं वडा भएको छ । यसैगरी नेवाको विशेष सहयोगमा गोलबजार ९ चन्द्रोदयपुर आजै खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । सिरहामा २१ प्रतिशतसम्म शौचालयमा पहुंच रहेको अवस्थाबाट खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान चलाइएको थियो । सो अभियानले अढाई बर्षमा ८२ प्रतिशतमा शौचालयको पहुंच पुरयाएको नेवाका उमाकान्त फुयांलले जानकारी दिनुभयो । बांकी १८ प्रतिशत लक्ष्य प्राप्तिको लागि २०७४ कात्तिक मसान्तसम्म समय लिएको डिवाससीसी सिरहाको बैठकले निर्णय गरेको छ । यसअघि २०१६ सम्ममा सिरहालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएका थिए तर, सयममा पूरा गर्न नसकेको कारण अभियानको कार्य अगाडि बढाईएको हो । सरकारले सन् २०१७ सम्म नेपाललाई खुला दिशामु्क्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको छ भने हालसम्म ४० जति जिल्ला खुला दिशामुक्त क्षेत्र घोषणा भइसकेको छ । मधेशको सप्तरीदेखि पर्सासम्ममा हाल सिरहा लक्ष्य प्राप्तिमा सबै भन्दा अगाडि छ ।
बर्षासंगै असिना
एक सत्ता नवित्दै फेरी बर्षासंगै असिना खसेको छ । असिनाले कृषि उत्पादनमा ठूलो असर परेको छ । खास गरेर पाक्न लागेको गहुं, मुंग दाल, चना, आलसलगायत कृषि वालीमा असर परेको छ । आंपमा लागेको फूल मजर समेत असिनाले क्षति पुगेको छ । उता, एकसाता अघिदेखि धुम्मिएको राजधानीमा शुक्रबार राति १० बजेतिर अकस्मात् असिनापानी परेको छ । रातको समय भएता पनि असिना देखेर वालवालिका र युवायुवतीहरु रमाएका दृश्य देख्न सकिन्थ्यो ।एकैछिन हावा हुरीसहित परेको पानीसँगै असिनाको वर्षा भएको थियो । अघिल्लो सातामात्रै सप्तरी लगायतका जिल्लामा यसैगरी असिना परेको थियो । राजधानीमा भने चैतको महिनामा पनि राम्ररी घाम नलागेको करिब १ हप्ता भएको थियो । शुक्रबार रातिको वर्षापछि अब शनिबारदेखि मौसम सफा हुने अनुमान गरिएको छ ।
लहानमा लामखुट्टे आतंक
लहानमा लामखुट्टेको व्यापक वृद्धि बिकास भएको छ । जसको टोकाईले लहानबासी बढी नै प्रभावित भएको छ । लहान नगरपालिका ७ स्थित नहरमा जमेको फोहर पानीले लामखुट्टेको अझ बढिनै उत्पादनले स्थानीय बासी लामखुट्टेको टोकाईले असाध्यनै प्रभावित भएको छ । लामखुट्टेले गर्दा व्यक्तिको सामाजिक, आर्थिक, मानसिक, शारिरीक र मनोवैज्ञानिक पक्षलाई दुष्प्रभावित गर्ने कुरामा विज्ञ एवं सरोकारवालाहरु सहमत छ। मच्छडको टोकाइले व्यक्तिको कार्यक्षमता र उत्पादनशीलतालाई घटाउने गर्दछ। लामखुट्टेको टोकाइकै कारणले राम्ररी निँद्रा नलाग्ने र त्यसको असरका रुपमा सही तरिकाले काम गर्न नसकिने स्थिति उत्पन्न भइरहेको छ । लामखुट्टेजन्य मलेरिया, कालाजार, इन्सेफ्लाइटिस, चिकनगुनिया आदि रोगका कारण व्यक्ति अस्वस्थ हुँदा वा ज्यान गुमाउँदा आर्थिकरुपमा लचर हुने आदि प्रभाव गम्भीर रुपमा हुने गर्दछ।लामखुट्टेकै टोकाइबाट भोग्नुपर्ने पीडाका कारण लहानमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले आफ्नो बसाइँ अवधि छोट्याउने गर्दछन् । सरकारी र गैरसरकारी कार्यक्रमहरु लहानको साटो अन्यत्र आयोजना हुन थालेका छन् । लामखुट्टेकै कारण जन मानिसले लहान नगरपालिकालाई नर्क पालिकाको उपाधि दिएका छन । तर पनि मच्छड नियन्त्रणका लागि नगरपालिकाका अधिकारीहरुले यसलाई गम्भीरतापूर्वक लिएका छैनन् ।लामखुट्टेको प्रकोप बढ्नुबारे सामान्य जनता मात्र होइन सरोकारवाला हरुपनि अनविज्ञ छन् । उनीहरुलाई भने मच्छरको टोकाइबाट हुने पीडाबारे मात्र थाहा छ । विकास बजेटलाई कट्टा गरेर भए पनि लामखुट्टेको उपद्रो नियन्त्रण गर्न जरुरी रहेको छ । तर विज्ञहरुले भने कीटनाशक विषादी छर्कदैँमा मच्छड नियन्त्रित नहुने बताउँछन् ।लामखुट्टेको सँख्या बढ्न र जीवनरक्षित हुन उष्णप्रदेशीय क्षेत्रलाई अत्याधिक अनुकूल मानिन्छ । २५ देखि ६० डिग्री सेल्सियस तापक्रममा मच्छडको वृद्धि हुने गर्दछ ।
महिसोथा विद्यालयमा चार शिक्षक ,चार विद्यार्थी
सिरहा नगरपालिका–८ महिसोथा स्थित रहेको आधारभूत विद्यालयका शिक्षकहरुको लापरवाहीले न्यून विद्यार्थी पठ्नपाठन गरिरहेको खुलासा भएको छ । विद्यालयमा जम्मा चार बालबालिका उपस्थित हुने गरेको छ भने उपस्थित विद्यार्थीहरुलाई समेत शिक्षकहरुले ध्यान नदिएको कारण खेलिरहेको हुन्छन् । विद्यार्थीहरुलाई शिक्षा दिनुपर्ने तर महिला शिक्षक मञ्जु कर्ण र विनाकुमारी यादव आफ्नै कथा व्यथाको कुरामा व्यस्त रहेको प्रत्यक्षदर्शी स्थानीय पत्रकार बद्रीनारायण यादवले बताए । उता प्रधानाध्यापकचाहिँ ‘अफिस रुम’मा रहने अर्का शिक्षक रामप्रकाश यादव विद्यालय नआएपछि कसको के लाग्ला ? यो शिलशिलावार वितेको आईतवार पत्रकार बद्रीनारायण यादव त्यहां पुगेका अवस्थाको चिरफार हो । यो बालमैत्री विद्यालय हो । अफिस कोठामा धेरै शैक्षिक, खेलकुद, शिक्षण सामग्रीहरु छन् । चारजना विद्यार्थी मात्रै हेरेपछि प्रधानाध्यापक महेश्वरप्रसाद यादवलाई अरु विद्यार्थी छैन भनी सोध्दा उनले भने,‘आज धेरै आएका छैनन् । आएकालाई पनि टिफिनमा छोडेका हौं ।’ तर, त्यो समय टिफिनको थिएन । पछि उनले भने, ‘अधिकांश दलित विद्यार्थी मात्रै यहाँ पढ्छन् । उनीहरु पढ्न आउँदैनन् । हामीले त पटक–पटक विद्यालय ल्याउने प्रयास गरेकै हो ।’ यस विद्यालयमा जम्मा ५४ जना विद्यार्थीको नामाकरण भएको रजिष्टरमा उल्लेख छ । कक्षा १ देखि ४ सम्म क्रमशः १२, १४, १०, १६ र कक्षामा पाँचमा २ जना मात्रै विद्यार्थी छन् । आइतवार पढ्न आएका सबै विद्यार्थीहरु एउटै कक्षामा देखिएका थिए । विद्यालयमा चारजना दरबन्दीका शिक्षक छन् । प्रअ यादवले ‘अभिभावकमा एक किसिमको सोंच छ । सामुदायिक विद्यालयमा पढाइ हुँदैन । बालबालिका पढाइका लागि नदिने तर पढाइको कुरा मात्र गर्ने अभिभावक छन् । हामी घर–घरमा जान्छौं बालबालिका माग्न तर पठाउँदैनन् । अरु बेला विद्यालय नपठाउने तर छात्रवृत्ति लिनचाहिँ आउने गर्छन्,’ उनले सुनाए ।
भदैयामा गाईवस्तुलाई खोप
रोग लाग्नु भन्दा रोगको बाटै छेक्नु जाती । यस्तै कार्यक्रम लहान नगरपालिकाको वडा नम्बर १८ को सहयोगमा यही चैत्र १० गतेदेखि १२ गतेसम्म सिरहाको भदैयामा गाईवस्तुहरुलाई खोप लगाउंने कार्यक्रम शुरु भएको छ । गाईवस्तुमा लाग्ने पिपिआर, नाम्ले जुक्का, एचएसबीक्यू लगायतका रोग विरुद्ध खोप कार्यक्रम राष्ट्रिय कृषक समूह महासंघ नेपाल भदैयाको आयोजनामा संचालन भएको छ । त्यस गाउंमा यो कार्यक्रम दोस्रो पटक संचालन गरिएको महासंघका रामसेवक रामले बताए ।
सिके राउतलाई दस दिन म्याद थप
जिल्ला अदालत सिरहाले डा.सिके राउतलाई अनुसन्धान गर्न चौथो पटक १० दिनको म्याद थप गरिएको छ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउत सहित १२ जनालाई सरकार वादी मुद्दा सम्बन्धी ऐन २०४९ को अधिनमा रही राज्य विरुद्ध संगठित अपराध निवारन ऐन २०७० बमोजिम अनुसन्धानमा राख्नुपर्ने ६० दिन मध्ये बाँकी रहेको १० दिनको म्याद आजै देखि नै लागु हुनेगरी १० दिनको म्याद थप गरिएको सिरहा जिल्ला अदालतले जनाएका छन् । डा.राउतका सय भन्दा बढी समर्थकहरुले समर्थनमा जिल्ला अदालत सिरहाका अगाडि नारा जुलुस लगाउदा भिडलाई नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेका छन् । नियन्त्रण गर्ने क्रममा इटाटार २, लवटोली बस्ने सिताराम यादवको छोरा अन्दाजी वर्ष १८ का दिपेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुहाउंने क्रममा महिलाको मृत्यू
सुनसरीको धरान उपमहानगरपालिका २ मा शुक्रबार बाथरुममा नुहाउने क्रममा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहीठाँउ बस्ने ७३ बर्षिया बिण्णु खनाल रहेकी छन्। खनाललाई बाथरुममा नुहाउने क्रममा अचानक गिजरबाट ग्याँस लिक भई आगो लागेको थियो। आगोले पोलेर शरिरका बिभिन्न भाग डढेर घाईते खनाललाई उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
बासुदेव परिवारमा आयोग
राष्ट्रिय मानव अधिकार आयोगले ६ वर्षअगाडि भारतीय सीमा सुरक्षा बल (एसएसवी) को गोली लागि ज्यान गुमाएका अमाही बरियातीका बासुदेव साहको परिवारसँग भेटघाट गरेको छ ।आयोगका सदस्य गोविन्द शर्मा पौड्याल नेतृत्वमा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापासहितको टोलीले चैत ११ गते साहको घरमा गएर स्थलगत अनुगमन गर्दै परिवारको अवस्थाबारे जानकारी लिएको हो । २०६७ साल जेठ ११ गते मङ्गलबार राति एक टिन तेल ल्याएको विषयमा विवाद हुँदा एसएसवीका इन्स्पेक्टर हितेन्द्र सिंहले साहलाई गोली हानेर हत्या गरेका थिए । एसएसवीले नेपाल भारत सीमाभन्दा करिव २ सय फिट नेपालतर्फ आएर गोली हानेको बताइएको छ । सो विषयमा राज्यबाट पीडितका परिवारलाई राहत प्रदानलगायतका विषयमा कुनै पहल नगरेको जानकारीमा आएकाले आयोगले अनुगमन गरेको सदस्य पौड्यालले बताए । आयोगले घटनालगतै जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेर घटनाबारे यथार्थ जानकारी माग गर्दै पीडितलाई राहतको लागि भनेपनि अनुगमन गर्दासमेत वास्ता नगरेकोले चैत १० गतेसमेत पत्र पठाइएको सदस्य पौड्यालले बताए । क्षतिपूर्ति दिने र घरको एक जनालाई प्रहरीमा जागिर लगाउने भनेपनि १० हजार रुपियाँ काजक्रिया खर्चबाहेक राज्यको तर्फबाट केही पनि नपाएको मृतकका छोरा गौतम साहले बताए । आयोगका सदस्य पौड्यालले नागरिकको सुरक्षा राज्यले गर्नुपर्ने भएपनि राज्य उदासिन भएको बताए । उनले यस घटनामा तत्काल क्षतिपूर्तिका लागि घच्घच्याउनेसमेत प्रतिवद्धता जनाए । नेपालका सीमा जोडिएका २० जिल्लाको सीमा क्षेत्रमा मानव अधिकारको अवस्थाको विषयमा आयोगले अध्ययन गरिरहेकोले त्यसको प्रतिवेदन आएपछि के गर्ने भन्ने विषयमा छलफल गरेर आयोगले थप कदम चाल्ने सदस्य पौड्यालले बताए । इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले घटना भएको यति लामो समय बित्दा पनि राज्यले पीडितलाई क्षतिपूर्ति नदिएको र घटनाको विषयमा सोधखोज नै नगरेर उपेक्षा गरेको भन्दै दुःख व्यक्त गरे ।
सवारी दुर्घटनामा तीन गम्भिर
झापा र मोरङ जिल्लामा शुक्रबार राती भएको सवारी दुर्घटनामा परी तीन जना घाईते भएका छन् । झापाको दमक नगरपालिक ३ भित्री सडक खण्डमा उतरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाईते भएका छन्। घाईते हुनेमा मे.४ प. ४९१८ नम्बरको मोटरसाईकल चालक दमक १३ बस्ने प्रशान्त बंगाली र पछाडी सवार दमक वेलडाँगी २ बस्ने हर्कराज घले रहेका छन् । घाईते दुबैजनाको लाईफ लाईन अस्पताल दमक पठाईएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। मोरङको सुन्दर हरैचा नगरपालिका ७ स्थित ठडिया चोकमा सिटी सफारीको ठक्करबाट एक जना घाईते भएका छन् । भित्री सढक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको सिटी सफारीले सोही ठाँउका ६० बर्षिया घुरनी चौधरीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाईते चौधरीलाई उपचारकालागी नोबेल अस्पताल बिराटनगर पठाईएको छ। ठक्कर दिने सफारी र चालकलाई प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ ।
सरकारले गरिबी निवारणसम्बन्धी ४६ कार्यक्रम सञ्चालन गरेको छ । तर, ती कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट होइन, अन्य १४ मन्त्रालयबाट सञ्चालित छन् । देशभर करिब ६१ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको केन्द्रीय तथ्यांक विभागले ०७० मा गरेको अध्ययन प्रतिवेदन छ । ती गरिबको गरिबी निवारण गर्न बनेको सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबका लागि एउटा कार्यक्रम मात्र सञ्चालन गरेको छ । करिब १ अर्ब ६७ करोड बजेट रहेको मन्त्रालयले पश्चिमी उच्च पहाडी जिल्ला गरिबी निवारण कार्यक्रम मात्र सञ्चालन गरेको छ ।
कारागारमा अखाद्य
सुरक्षा घेराभित्र रहेका कारागारहरुमा दोब्बर बढी मूल्य लिएर अखाद्य वस्तुको बिक्री वितरण हुने गरेको संसदीय समितिको अनुगमनबाट देखिएको छ । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्र्तगतको आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले कारागारहरुमा सडेगलेका र म्याद गुज्रिएका वस्तु बिक्री भइरहेको प्रतिवेदन तयार पारेको छ । उपसमितिले कारागारहरुको अवस्था नर्कको जस्तै रहेको निष्कर्षसहितको प्रतिवेदन शुक्रबार समितिसमक्ष बुझाएको छ । प्रतिवेदन बुझाउने क्रममा उपसमितिका संयोजक सुभाष चन्द्र शाह ठकुरीले अनुगमन गरिएका कुनै पनि कारागारमा बन्दीहरुको स्वास्थ्यको ख्याल गरेको नपाइएको बताए । उपसमितिले कारागारहरुमा साल्ट ट्रेडिङ, नेष्नल ट्रेडिङ र खाद्य संस्थानबाट खाद्यवस्तु बिक्री गर्ने व्यवस्था मिलाउनका लागि निर्देशन दिन समिति समक्ष सुझाव दिएको छ ।