महिलासहित तीन प्रहरी घाईते, स्थानीयको भिड्ले सिरहा प्रहरीको मोटरसाईकल जलाइयो
लहान, २२ असोज । सिरहा सदरमुकाममा आज स्थानीय र प्रहरीबीच भएको मुठभेडमा एक महिलासहित ३ प्रहरी घाइते भएका छन् भने स्थानीय युवाहरुले प्रहरीको एक मोटरसाइकलमा आगो लगाएर जलाएको छ ।
दुर्गा पूजास्थल नजिक सिरहा १ र सिरहा २ नम्बर वडाका युवाबीचको झगडा भएपछि वडा प्रहरी कार्यालय ख सिरहाका टोली घटनास्थल पुगेको थियो । घटनास्थलबाट प्रहरीले स्थानीय रामदेव यादव, बली यादव, दिपेन्द्र यादवलाई कुटपिट गर्दै प्रहरीले वडा कार्यालय ल्याएपछि तनाव बढेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
तीन जनालाई प्रहरीमा लगेपछि रामदेवकी आमा मुलहीदेवी यादवसहितका स्थानीय युवाहरुले वडा प्रहरी कार्यालय पुगेर प्रहरीमाथी ढुंगमुढा गरेका थिए । मुल गेटमै वडा प्रहरीको टोलीले स्थानीयमाथी लाठी प्रहार गर्दा मुलही यादव घाईते भएर मुर्छित भएका थिएका थिए । मुर्छित महिलालाई उपचारको लागि समेत प्रहरीले नलगेको र स्थानीयलाई समेत लग्न नदिएपछि युवाहरु आक्रोशित भएर वडा प्रहरीविरुद्ध ढुंगामुढा गर्दै प्रहरीविरुद्ध नाराबाजी गरेको थियो ।
स्थानीयको ढुंगामुढाबाट वडा प्रहरी कार्यालय ‘ख’ का प्रमुख प्रहरी नायव निरीक्षक विरेन्द्र यादव, सोही कार्यालयका प्रहरी सहायक निरीक्षक चितनारायण माझी र प्रहरी हवल्दार रामकुमार यादव घाइते भएका हुन् । गम्भिर घाइते भएका प्रहरी सहायक निरीक्षक माझिलाई उपचारका लागि विराटनगर लगिएको प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए । प्रहरीको कुटाइबाट सिरहा २ का मूलहीदेवी यादव घाइते भएका हुन् । अन्यको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको छ ।
सिरहा २ स्थित किराना पसल संचालक रामदेव यादवको पसलमा लुटपाट गर्दै सिरहा १ का आकाश यादवलगायतका युवाहरुले कुटपिट गरिरहेको खबर आएपछि आफू घटनास्थलमा गएको प्रहरी नायब निरीक्षक यादवले बताए । प्रहरी निरीक्षक यादव घटनास्थलमा पुग्ने बितिकै अन्धाधुन्ध लाठी चार्ज गरेको स्थानीयहरुको आरोप छ ।
प्रहरीले मूलहीदेवी लगायतलाई कुटपिट गरेको आक्रोशमा स्थानीयले वडा प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गर्दै कार्यालय अगाडि सकडमा नै रोकि राखेको नम्बर प्लेट खुल्न नसकेको प्रहरीको मोटरसाइकलमा समेत आगजनी गरेको छ । घटना बेलुका ६ः ३० बजेदेखि ८ बजेसम्म स्थित तनाव पूर्ण रहेको थियो ।
सिरहाका एसपी श्यामलाल ज्ञवालीले केही फटाहा युवाहरुले वडाका कमाण्डरलाई बदनाम गराउन यो घटना गराएको हो । प्रहरीको मोटरसाइकलमा आगजनी गरेको र महिला कुटिएको दुबै घटना सही भएको उनले बताए ।