लहान ६ असोज । मधेशी र थारु महिलाहरुले आफ्ना सन्तानको दीर्घायुको कामना गर्न श्रद्धापूर्वक जितिया पर्वको तयारीमा जुटेका छन् । आजदेखि विधिवतरूपमा पर्व सुरु भई शुक्रबारको दिन र रातका साथै शनिबार बिहान ९ बजेसम्म अर्थात ३६ घन्टासम्म निराहार व्रतमा बसेपछि यो पर्व सम्पन्न हुन्छ । आश्विन कृष्णपक्षको अष्टमी तिथिभरि निराहार व्रतमा रहनुपर्ने र नवमी तिथिको प्रवेश भएपछि मात्र जितिया पर्व पूरा हुने भविष्य पुराणमा उल्लेख गरिएको छ । यसपटक तिथिको समयमा हेरफेर भएका कारण व्रतालुलाई ३६ घन्टासम्म निराहार व्रतमा बस्नुपर्ने भएको छ । गत वर्ष २८ घन्टा मात्र उपवासमा बस्नु परेको थियो । यसपर्वको अवधिभरि थुक पनि निल्न नहुने र ३६ घन्टासम्म निराहार उपवास व्रतमा बस्नुपर्ने साथै व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो व्रतलाई कठोर व्रतको रूपमा लिइएको हो ।

आश्विन कृष्णसप्तमी तिथिका दिन व्रतालु महिलाले कोदोेको रोटी र माछा खानुपर्ने चलन रहेको छ भने विधवा महिलाले अरुवा–अरुवाइन खाने गर्छन् । यसअघि व्रतालुले नजिकको पोखरीमा स्नान गरी घिरौँलाको पातमा पिना र तेल राखेर जिमुतवाहन देवतालाई चढाइ पूजापाठ गर्छन् । यसपछि, घर पुगेर जिमुतवाहन देउता, चिल र स्याललाई प्रसाद चढाउने गर्छन् । व्रतालु ब्राह्मणीले पितरपक्ष परेकाले दिवङ्गत सासू, आमा, हजुरआमा, काकीलगायतको नाउँमा चिउरा–दही, मिठाइलगायतका प्रसाद चढाउने गर्छन् । सासू र आमाको आत्माको शान्ति हुने विश्वासका साथ उनीहरूको नाममा अन्य गोत्रका ब्राह्मणीलाई निम्तो दिई भोजन गराउनुपर्ने परम्परा पनि रही आएको छ । भोजन गर्ने ब्राह्मणीलाई पितराइन भन्ने गरिन्छ । व्रतको समय पूरा भएपछि एक अन्य गोत्रको ब्राह्मणलाई निम्तो दिएर भोजन गराएर मात्र आफू भोजन गर्ने नियम पनि रहेको छ । जिमुतवाहनको पूजा कृष्णअष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान सूर्यलाई अर्घ अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका महिलाले एकठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमुतवाहन देउताको बारेमा एउटी व्रतालु महिलाले कथावाचन गर्छिन् र सबैले कथा श्रवण गरेपछि आ–आफ्ना घर फर्किन्छन् । साँझतिर आँगनलाई गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोको चिलको आकृति बनाउँछ र हाँगामुनि स्यालको आकृति बनाउँछ । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन् ।
् जिमुतवाहन को हुन् ? भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाको पुत्र जिमुतवाहन थिए । उनीमाथि महादेवको असिमकृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए । चिल र स्यालको पनि पूजा हिन्दुधर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ । सोअनुरूप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसोलगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ । जितिया पर्व कथा कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रूखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुई वटैको बीचमा घनिष्ठ मित्रता थियो । एक दिन जितिया पर्व मनाउने महिला नर्मदा नदीमा स्नान गरी त्यही रूखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गरेका थिए । व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा जागृत भयो । दुई वटैले सल्लाह गरी व्रतमा बस्ने निधो गरे । सोही राति नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्तले शवको अधिकांंश भाग जलेपछि छोडेर घर फर्के । उनीहरू फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिइ मासु पनि खायो र केही लुकाएर पनि राखेको चिलले हेरिरहेको थियो । दुवैको जन्म भास्कर नामक ब्राह्मणको घरमा भयो । पूर्वजन्ममा चिलको शिलावती र स्यालको कर्पूरावतीको रूपमा जन्म भयो । जेठी शिलावतीको विवाह धनमानको घरमा र कर्पूरावतीको राजाको घरमा । जेठी शिलावतीका सात छोरा भए तर महारानी भएकी कर्पूरावतीको छोरा जन्मियो तर मृत्यु भयो । वर्षांैपछि दुवैको सम्बन्ध चिसिँदै गएपछि जेठी शिलावतीले आफ्नी बहिनीलाई पूर्वको घटना स्मरण गराउँदै व्रत भङ्ग गरेको कारण यस जन्ममा तिम्रो सन्तानको मृत्यु भएको भनि जानकारी गराएको धार्मिकपुस्तकमा उल्लेख गरिएको छ । त्यसै कारणले यो व्रत जति कठोर भए पनि व्रतलाई कसैले खण्डित गर्न चाहँदैनन् ।