लहान, २१ भाद्र । विचौलियाको चकरमा परेर परिवारबाट बिछोडिएका सिरहाका चार बालकलाई भारतबाट उद्धार गरिएको छ । विचौलियाका चकरमा रहेका बालबालिकालाई बिहारमा पर्ने मुझफ्फरपुरबाट उद्धार गरी भदौ २१ गते लहानमा सम्बन्धित परिवारको जिम्मा लगाइएको छ ।
इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत पवनकुमार गुप्ता, इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसी, इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियार र पत्रकारहरूको उपस्थितिमा सिरहाको दक्षिणी क्षेत्रको सोठियाइन गाविस ४ का चार बालकलाई परिवारको जिम्मा लगाइएको हो ।
सोठियाइन गाविस ४ का १० वर्षीय पवनकुमार सदाय, १२ वर्षीय सञ्जीवकुमार मुखिया, निरजकुमार सदाय र १३ वर्षीय दिनेश सदायलाई परिवारको जिम्मा लगाइएको हो । सिरहाको बस्तीपुरस्थित दलित संरक्षण अभियान मञ्च र मुझफ्फरपुरस्थित निर्देश सामाजिक संस्थाको पहलमा मुझफ्फरपुर स्थानीय प्रशासन र बाल गृहसँग समन्वय गरी मंगलबार लहान ल्याइएका चार जना बालक परिवारको जिम्मा लगाइएपछि तिनीहरु आ—आफ्नो घर फर्किएका छन् ।
भारत जयनगर कमलपुरका विचौलिया (दलाल ) अकवर शेखमार्फत दक्षिण भारतको मुम्बईमा पुर्याएर निकृष्ट श्रममा लगाइएका बालकहरुलाई करिव वर्षदिन अघि मुम्बई प्रहरीले उद्धार गरिएका थिए । त्यसपछि तिनीहरुलाई ६ महिनासम्म भारतकै स्थानीय बाल गृहमा राखेर छ महिनाअघि मुझफ्फरपुर पठाएका थिए । पछि संस्थामार्पmत जानकारीमा आएको उद्धारमा संलग्न मञ्चका कार्यक्रम व्यवस्थापक सुदेश भगतले जानकारी दिए । मञ्चका कार्यक्रम संयोजक सुर्यनारायण रामका अनुसार बाँधा श्रम र मानव बेचविखनविरुद्ध काम गरिरहेको स्थानीय संस्थामार्पmत बाल गृहमा सिरहाका चार जना बालकहरु रहेको सूचना आएपछि उद्धार गरिएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।