लहान १७ साउन । सांसद कोष र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सिरहाको सन्तनगरदेखि भवानीपुरसम्म सडक ग्राभेल र सोलार बत्तिको समान खरिद भएपनि निकासा नपाएको क्षेत्र नंम्वर ४ का सांसद रामचन्द्र यादवले गुनासो गरेका छन् । आज निज निवास धनगढीमाई नगरपालिकाको जिरोमाइलमा पत्रकार सम्मेलन गरी सांसद यादवले सन्तनगर भवानीपुरको तीन किलोमिटर सडक ग्राभेलको काम र क्षेत्रका विभिन्न स्थानमा सोलरबत्ति जडान गर्न सवै सामाग्री आएको भएपनि भुक्तानी नदिएको दावी गरेका छन् । पूर्वाधार विकास कार्यक्रम अन्तर्गत अन्य कामको भुक्तानी पाइएको भएपनि ४० लाखको कामको भुक्तानी नआएको गुनासो पोखे । ग्राभेलको १५ लाख र सोलार वत्तिको २५ लाख निकासा नआएको सांसद यादवले बताए । कमिसनको कारण आफ्नो कामको भुक्तानी रोकेको यादवले आरोप लगाए । यादवले आफ्नो क्षेत्रमा भएको सवै कामको जिल्ला प्रमुख अधिकारी विजय नारायण मानन्धर, स्थानिय विकास अधिकारी टुवराज पोखरेललाई प्रत्यक्ष रुपमा निरीक्षण गराएको बताए । काम सम्पन्न भएदेखि नै जिल्ला विकास कार्यालयलाई मूल्याङ्कनको लागि अनुरोध गर्दा समेत कमिसनकै कारण मूल्याङ्कन नगरिदिएको समेत यादवले आरोप लगाए । अघिल्लो बर्ष जिल्ला विकास मार्फत जडान गरिएको सोलार बत्ति तीन महिना पनि नचलेपछि यस पटक उपभोक्ता समिति मार्फत काम गराउन लागेको बताए । समितिमा विपक्षीहरुले मुद्दा हालेर विघटन गरेपछि सोलार वतिको सवै सामान खरिद भईसकेको छ । सांसद यादवले आफ्नै अमानतमा सामान खरिद गरेको भएपनि जिल्ला विकास समितिका कर्मचारी लेखापाल जय कटुवालले बदमासी गरेको बताउनु भयो । यता, स्थानीय विकास अधिकारी टुवराज पोखरेलले सांसदजीको क्षेत्रमा केही काम विवादीत भएको छ, त्यसको पनि मूल्याङ्कन समयमै नआएकोले उहाँको बजेट फ्रिज भएको बताए । आफूहरुले उहाँको क्षेत्रमा अनुगमन गरेको काम राम्रो भएपनि विवादित काम हेर्न नपाएको बताउनुभयो । उहाँले काम गर्नु भएको भएपनि अव त्यसको बजेट निकासा हुने नहुने सम्वन्धमा आफूले पनि बुझ्नु पर्ने बताउनु भयो । त्यस्तै, डिभिजन इन्जिनियर राजकुमार गोइतले समितिबाट कामको योजना पास भएको हो, काम पनि भएको छ, त्यसलाई अव नयाँ बजेटबाटै भएपनि मिलाउनु पर्ने बताउनु भयो । गोइतले नयाँ बजेटबाट भएपनि प्रकृया पुर्याएर भएको कामको भुक्तानी दिनु पर्ने बताउनुभयो । कुनै व्यक्तिको प्रभाव र कमिसनको खेलोका कारण आफूलाई अप्ठेरोमा पारेको सांसद यादवले आरोप लगाए । सांसद यादवले जिल्लामै म प्रधानपन्च हुंदा पनि धेरै विकासका काम गरेको बताए । अहिले सांसद कोषको ढेड करोडबाट कविलासी उच्च माविमा ९ लाख, कसहा उच्च माविमा ९ लाख, चैनपुर उच्च माविमा ९ लाख दिएर भवन निर्माण गराए । व्यापार संघ ७ लाख, मन्दिरको लागि फुलकांहाकटटी ७ लाख, ललसैया ७ लाख दिए । सुखीपुर मोहनपुर सडक ग्राभेलमा ७ लाख, अयोध्यानगर ७ लाख, चौतरा निर्माणमा १ लाख ७५ हजार, दलित सामुदायिक भवन निर्माणमा ४ लाख, विष्णुपुरकटटीमा हवामहल १ लाख, जितमाहान मन्दिरमा ३ लाख, फुलकांहाकटटी ग्राभेलमा ६ लाख, प्रहरी गेटको लागि ६५ हजार, गौशालामा ८ लाख, सडक निर्माणमा २० लाखलगायतको विकास कार्य सम्पन्न गरेको सांसद यादवले बताए ।