दिनेश्वर गुप्ता ।
लहान , ७ जेठ ÷ लहान नगरपालिकाभित्र पर्ने धार्मिक महत्वका तत्कालिन ढोढना–३ स्थित राजदेवी पञ्चावती मन्दिरमा वैशाख शुक्ल पूर्णिमाका दिन (८ गते जेठ÷शनिवार) ठूलो भिड्सहित मेला लाग्ने गरेको छ ।
मेला भर्न र भाकल पूरा भएपछि मन्दिरमा पशुपक्षी बली चढाउंन सिरहा, सप्तरी, उदयपुर, धनुषा, काठमाण्डौं विराटनगर लगायत भारतको विभिन्न ठाउंबाट आएका हजारौं भक्तजनको भीड् लाग्ने गर्छन् । सन्तान प्राप्ती, रोग नाश, कार्यसफलताका लागि भक्तजनहरुले लहान बजारदेखि ७ किलो मिटर उत्तरमा ३ विगाहा क्षेत्रफलमा फैलिएको जंगलमा अवस्थित राजदेवी मन्दिरमा बोका, हांस, परेवा र कुखुरा बलि चढाउंने गर्छन् । पुरुषले भाकल गर्दा बोका र महिलाले मन्दिरमा पाठी बली चढाउंने चलन छ । स्थानीयवासिन्दाका अनुसार सो क्षेत्रमा जंगल परापूर्वकालदेखि नै थियो । गढिमाई मन्दिरपछि दोस्रो बलि दिने स्थान राजदेवी पञ्चावती मन्दिरलाई लिइन्छ । आज शान्तिको सन्देश प्रचार गर्दै २५५८ औं वुद्धजयन्ती मुलुकभर मनाइरहेको बेला अहिंसाको सन्देश बोकेको पूर्णिमा भएपनि वर्षमा एकदिन मात्र बलि चढाउंने सो मन्दिरमा भाकल पूरा भएपछि भक्तजनहरुले पशु र पंक्षी बली दिने गरेको छ ।
मेला व्यवस्थापनका बीरेन्द्र चौधरीका अनुसार दश पुस्ताअघि त्यसक्षेत्रको जंगलमा जङगली जनावरहरुले दुख दिन थालेपछि धामीलाई देवीले सपनामा सो क्षेत्रमा मन्दिर स्थापना गरि पूर्णिमाको दिन बली दिन भनेअनुसार यहां बली दिने परम्परा रहेको हो । पूजा व्यवस्थापन समितिका अनुसार गतवर्ष पूर्णिमाका दिन मन्दिरमा दश हजारको संख्यामा बोका पाठी र २५ हजार संख्यामा परेवा, हांस र कुखुरा बली दिने गरिन्छ । बली दिईएको पशुपंक्षिको टाउंको समितिले राख्ने गरेको छ । यसवर्ष पनि २० हजारको संख्या पशु पंक्षिको बली चढने समितिको अनुमान छ । मेला व्यवस्थापन एवं अनुगमन समितिका सदस्य गौरी भट्टले पूर्णिमामा बली दिन नमिल्ने भएपनि राजदेवी मातालाई चण्डी ”पुर्णिमा”का दिन एक दिनमात्र ”बली” दिइने पौराणिक चलन भएको बताउछन् । वुद्धजयन्तीको दिन काटमार गर्न नहुने जानकारी भएपनि राजदेवी माताले त्यसदिनमात्र बली लिने भएकाले वाध्य हो । राजदेवी मन्दिरमा पूजा गर्न आजै ( जेठ ७ गते) लहानको सडकहरुमा श्रद्धालुहरुको ताती लागेको छ । लहानको राधाकृष्ण चौक (बखरी बजार)मा दिउंसो एक सयबढी मोटरसाईकल, ट्रायक्टरलगायतको सवारी साधन जाम भएको थियो । यसको मुख्य कारण हेवी ट्रकले बाटो अबरुद्ध गरेको थियो । यसवारे ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीसंग सम्पर्क गर्दा ‘हेवी ट्रक यथाशिघ्र त्यस बाटोमा रोक्ने’ भन्दै शान्ति सुरक्षाको लागि प्रहरी खटाइएको छ ।